इलाम उद्योग वाणिज्य संघको १६ औँ वार्षिक साधारण सभा तथा ९ औँ अधिवेशन शनिवार सुरु हुँदै छ । अधिवेशनमा बिभिन्न पदमा उम्मेद्धारी दिनेहरुको नामावली सार्वजनिक हुन थालेको छ ।
नेपाली कांग्रेसका ब्यवसायीको बहुमत जस्तै देखिन्छ वाणिज्य संघमा । यस अघि समेत इश्वरलाल चिपालु नेपाली कांग्रेसकै तर्फबाट टिकट पाएर निर्वाचित भएका हुन् । अध्यक्ष  चिपालु सहित पदाधिकारी तथा सदस्य सबै पदमा सोही प्यानलका ब्यवसायी निर्वाचित भएका थिए । 
यस पटक वरिष्ठ उपाध्यक्ष कृष्ण पौडेलले अध्यक्षमा उम्मेद्धारी दिने भएका छन् । उनको टीममा पुरानो कार्य समितिले समेत साथ दिएको देखिन्छ । यस पटकको निर्वाचनमा अध्यक्ष चिपालुले समेत नेतृत्व दोहोर्याउने बताएका छन् । उनले स्वतन्त्र रुपमा आफ्नो उम्मेद्धारी रहने बताएका छन् । 
सहमतीबाट नयाँ पदाधिकारी तथा सदस्य छनौटका लागि पहल भइरहेको बुझीएको छ । पटक पटक छलफल गर्दा समेत नमिले पछि अध्यक्षमा दुई जनाको उम्मेद्धारी रहने देखिएको छ । दुईजनाको उम्मेद्धारी पर्ने भनिए पनि अझै छलफल गरेर पौडेलको नेतृत्वमा सहमती जुटाउने पहल भइरहेको छ । तर चिपालुले पनि आफ्नो अध्यक्षमा उम्मेद्धारी दिने बताएका छन् । यो दुई टीम मध्ये पौडेलको टीम मजबुद देखिएको छ । 
साझा उम्मेद्धारका रुपमा पौडेललाई अडागी सारिएकाले सहयोग गर्ने अघिकांश पुरानो कार्य समितिका पदाधिकारी तथा सदस्यहरुको भनाई छ । पौडेल डेढ दशक देखी ब्यवसायमा सम्लग्न छन् । उनी आफुले ब्यवसायीको पिडा बुझेको र ब्यवसायीको हितमा काम गर्न आफ्नो उम्मेद्धारी रहेको बताउँछन् । दिनानुदिन ब्यवसाय जोखिममा पर्दै गएको साथै देशको अर्थतन्त्र धरापमा परेकाले वैंक तथा वित्तीय सँस्थाहरुको एकलौटी चर्को व्याज असुलिले ब्यवसायीहरु मारमा परेको अध्यक्ष पदका प्रत्यासी पौडेलको भनाई छ । सहज कर्जाको उपलब्धतामा असहजता र नियमनकारी निकायको मौनताका कारणले ब्यवसायी पलायनको अवस्थामा पुगेकाले यस्ता कार्यमा सम्वन्धित निकायलाई घच्घच्याउन समेत आफ्नो उम्मेद्धारी रहने उनको भनाई छ । 
सँस्थाको प्रतिष्ठा र गरिमालाई माथी उठाउने सोच भएकाले जिल्लाका ब्यवसायीले साथ दिनु पर्ने उनी बताउँछन् । 
त्यस्तै अध्यक्ष पदमा दोहोर्याउन आफुले समेत उम्मेद्धारी दिने चिपालुले बताए । उनले आफु स्वतन्त्र रुपमा उम्मेद्धारी दिने र वढि जसो गाउँ क्षेत्रका ब्यवसायीले साथ दिने उनको भनाई छ । चिपालुले हालसम्म आफ्नो टीममा आरसी नेपालले सचिवमा उठ्ने बताएको अन्य टीमको तयारी नभएको बताए । नेपालको नाम सामाजिक सञ्जालमा समेत सार्वजनिक भइसकेको छ । 
अन्य पदाधिकारीमा वरिष्ठ उपाध्यक्षमा दिपेश श्रेष्ठ, वाणिज्य उपाध्यक्ष अनुजा भारद्धाज, महिला उपाध्यक्षमा खिना बस्नेत, उद्योग उपाध्यक्ष श्री विष्ट, महासचिव हेमन्त गौतम (अत्री), सचिव सुमन दास र कोषाध्यक्षमा सन्तोष भक्तराजको नाम चर्चामा छ । सदस्यहरुको भने सबै नाम आइसकेको छैन । 
नेकपा एमाले तथा अन्य प्यानलबाट यो समाचार तयार पार्दासम्ममा आधिकारिक उम्मेद्धारी नदिने बुझीएको छ । 
यता प्रकाश चापागाईँले वरिष्ठ उपाध्यक्षमा उम्मेद्धारी दिने बताएका छन् । अन्य ब्यवसायीले समेत आफ्नै एकलौटी रुपमा उम्मेद्धारी घोषणा गर्ने बुझीएको छ ।  
वाणिज्य संघमा आठ जना पदाधिकारी सहित आठ सदस्य गरेर १६ जनाको कार्यसमिति निर्माण हुने छ । 
वाणिज्य संघ इलाममा सात सय ४१ जना नयाँ तथा पुराना ब्यवसायीले ब्यवसाय दर्ता गरेका छन् । मंगलबारे शाखाबाट ७२ जना र दानावारी शाखाबाट ५१ जना ब्यवसायीले इलाम उद्योग वाणिज्यसंघकै मातहतमा नै ब्यवसाय दर्ता गराएका छन् । वाणिज्य संघमा जम्मा मंगलबारे र दानाबारी गरेर आठ सय ६४ जना ब्यवसायीले मतदान गर्न पाउने छन् । अधिवेशनले तीन वर्षका लागि नयाँ कार्य समिति चयन गर्ने छ ।सुत्रधार अनलाईन बाट साभार

Facebook Comments Box