राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा विपक्षी दलहरुले आइतबार संसद बैठक अवरुद्ध गरेका छन् । संसदको बैठक रोक्न प्रमुख प्रतिपक्षी नेकपा एमालेसँगै विपक्षमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) एक ठाउँमा उभिएका हुन् ।

बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विधेयक प्रमाणीकरण सम्बन्धी राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाउने र बजेटमाथि छलफल गर्ने कार्यसूची थियो ।

बैठक सुरु हुनासाथ विपक्षी सांसदहरु जर्‍याकजुरुक उठे । विपक्षी बेञ्चका सबै सांसद उठेको देखेपछि सभामुख देवराज घिमिरेले आश्चर्यभावमा भने, माननीय सदस्यहरु के भइरहेको छ यो !’ त्यसपछि उनले एमाले प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय दिए, अरु सांसद आ–आफ्नो सिटमा बसे ।

एमाले प्रमुख सचेतक गिरीले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले निष्क्रिय भइसकेको नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै आपत्ति जनाए । १२ जेठमा बसेको मन्त्रिपरिषद बैठकले सिफारिस गरेपछि राष्ट्रपतिले पुरानो फाइल खोजेर प्रमाणीकरण गरेको भन्दै उनले अगाडि भने, ‘जुन संवैधानिक ढाँचा छ, त्यसमा किर्ते गरेर प्रमाणीकरण गरियो भनेर हस्ताक्षर गरिएको छ ।’

२०७९ भदौमा संघीय संसदले दोस्रो पटक पास गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर तत्कालीन राष्ट्रपतिले चालेको असंवैधानिक कदमबारे मौन बसेका गिरीले अगाडि भने, ‘सम्माननीय राष्ट्रपतिज्यूले यसरी असंवैधानिक ढंगले प्रमाणीकरण गर्दै जाने हो भने भोलि बिहान २०५७ सालमा तत्कालीन राजा वीरेन्द्रले लालमोहर नलगाएको नागरिकता विधेयक थियो, विदेशी प्रभुहरुलाई रिझाउन सम्माननीय राष्ट्रपतिज्यूले त्यो पुरानो फाइल पनि खोजेर त्यसमा दस्तखत गर्नुभयो भने मान्ने कि नमान्ने ?’

प्रमाणीकरण गरेको भनिएको नागरिकता विधेयकलाई निष्क्रिय राख्नुपर्ने र एक साताभित्र संशोधन प्रस्ताव संसदमा ल्याउनुपर्ने एमाले प्रमुख सचेतक गिरीले माग गरे ।

गिरी बोलिसक्ना साथ एमाले सांसदहरु फेरि उठे, विपक्षी बेञ्चमा रहेका अरु सांसदहरु पनि उठे । सभामुख घिमिरेले यसबारे सरकारको ध्यानाकर्षण भएको हुनुपर्छ भन्दै बैठकलाई नियमित कारबाहीमा फर्किन सहयोग गर्न आग्रह गरे ।

एमाले सांसदहरुले हुँदैन भनेर विरोध गरे । सांसद रघुजी पन्तले संविधानको किताब देखाउँदै विरोध गरे । रास्वपा र राप्रपाका सांसदहरुले बोल्न खोजेपछि सभामुख घिमिरेले रास्वपाका प्रमुख सचेतक सन्तोष परियारलाई बोल्न समय दिए ।

नागरिकता नेपालको राजनीतिक समस्या भएको बताएका उनले विधेयक ल्याउने प्रक्रियाको विरोध गरे । उनले भने, ‘सरकारले यो रोकोस्, संशोधन गरोस् । यो गलत विधि सुधारिंदैन भने राष्ट्रिय स्वतन्त्र पार्टी टुलुटुलु हेरेर बस्दैन ।’

आफ्नो भनाइ सकेर उनी बस्दा नबस्दै राप्रपाका सांसदहरु हात उठाउँदै उठे । सभामुखले ‘कुरा आइसकेको होला’ भन्दै बस्न आग्रह गरे पनि विपक्षी दलका सांसदहरु उभिरहे भने राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले माइक समाइरहे ।

त्यसपछि सभाुमखले लिङ्देनलाई बोल्न समय दिए । उनले पनि नागरिकता ऐनमा चाँडो संशोधन हुनुपर्नेमा विमति नभए पनि जुन प्रक्रिया र समयमा नागरिकता विधेयक प्रमाणीकरण भयो, त्यसको आफूहरुले विरोध गर्ने बताए । राष्ट्रपति मन्त्रिपरिषद्को आज्ञापालक नभएको भन्दै उनले भने, ‘जुन गल्ती गरिएको छ, त्यसलाई सच्याउनुपर्छ । online khabar

Facebook Comments Box