पहिचान पक्षधरलाई वार्तामा आउन सरकारकाे आह्वान

प्रदेशको नामाकरणमा असन्तुष्ट पक्षलाई वार्तामा आउन कोशी प्रदेश सरकारले आह्वान गरेको छ।
कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार पत्र पठाएर नामाकरणमा असन्तुष्टि व्यक्त गर्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गरेको हो।
सोमबार सरकारद्वारा गठित वार्ता समितिको बैठकले गरेको निर्णय अनुसार आन्दोलनरत प्रदेश १ पुनः नामाकरण संयुक्त संघर्ष समितिलाई पत्र पठाउँदै वार्तामा आउन सरकारले आह्वान गरेको छ।
फागुन १७ गते प्रदेश १ लाई कोशी प्रदेश नामाकरण गरेपछि असन्तुष्ट पक्षले पहिचानका आधारमा नामाकरण गर्नुपर्ने माग गर्दै प्रदेश १ पुनः नामाकरण संयुक्त संघर्ष समिति गठन गरी आन्दोलन गरिरहेको छ।
कोशी प्रदेश सरकारको जेठ २४ गतेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य, खानेपानी, सिचाई तथा ऊर्जा मन्त्री तिलकुमार म्याङ्वोको संयोजकत्वमा भौतिक पूर्वाधार, उद्योग कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौला र सामाजिक विकास पर्यटन, वन तथा वातावरण मन्त्री बुद्धिकुमार राज भण्डारी सदस्य रहेको वार्ता समिति गठन गर्ने निर्णय गरेको थियो।
आन्दोलनरत पक्षले सरकारले वार्ता समिति गठन गरे पनि वार्तामा औपचारिक रुपमा नबोलाएको गुनासो गर्दै आएका थिए।